pahilopaila

Latest Post

हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय शक्तिसँग सम्बन्धित केही वस्तु उत्पादनमा रोक लगाएको छ ।

याङ्गुन, १ वैशाख । 
म्यानमार सरकारले केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको समाचार छ । म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो ।

एकाबिहानै पत्रिका किनेर जागिरका ‘भ्याकेन्सी’ हेर्दाहेर्दा म हैरान भैसकेकी थिएँ। उनीहरूले खोज्ने अनुभवले नै मलाई फतक्कै गलाउँथ्यो। कलेजका लागि ‘इन्टर्न’ गरेका केही महिना र उहिल्यै सिकेको कम्युटर कोर्सबाहेक बायोडाटामा आँखा अडिने केही नदेख्दा भएको अलिअलि आत्मविश्वास पनि बरफझैं पग्लिएर जान्थ्यो।
साथीहरू एमए पढ्न थालिसकेका थिए। मेरो भने केही दिनअघि मात्र ब्याकपेपरको रिजल्ट आएको थियो। पास त भएछु, तर त्यो वर्ष एमए पढ्न नपाइने रहेछ।
फुर्सदिलो बनेको त्यही समय म आफ्नो मन अडाउन पत्रिकाका विज्ञापनतिर आँखा दौडाउन थालेकी थिएँ।
एक साँझ बुबाको फोन आयो।
‘अहिले भर्खरै अन्टिकोमा जानू,’ बुबाले आदेश दिनुभयो, ‘केटा राम्रो छ रे, विदेशबाट बिहे गर्न भनेरै आएको रै’छ। तिमीलाई हेर्न खोजेको छ।’
अकस्मात यस्तो कुरा सुनेर मलाई भाउन्न भयो।
कोही केटाले मलाई हेर्न मन गर्यो भन्दैमा म किन उसको अगाडि देखा परूँ! जिन्दगीमा यस्तो अवस्था आउला भनेर म तयार थिइनँ। बुबाले यस्तो भन्नुहोला भन्ने त सोचेकै थिइनँ।
‘कसैलाई हेर्न मन लाग्यो भनेर उसका अगाडि देखिन जानलाई के मेरो स्वभिमान छैन?’ मनमा आइसकेको जवाफ ओठसम्म पुगेर अडिए।
‘एकचोटि गएर भेट्न के भो त नि!’ मौनतामै मेरो मनको कुरा भाँपेर होला, बुबाले नै भन्नुभयो, ‘मन पर्यो भने बिहे गरे हुन्छ, तिमीलाई पढ्न र जागिर खान रोक्दैनन्। अहिल्यै जाऊ त आन्टिकोमा!’ 
बुबाको आदेश मानौं अन्तिम थियो।
पढ्न र जागिर खान दिने केटा पाउनु भाग्यको कुरा जस्तो पो गर्छन् आमाबा त! आफूलाई भने उसले दिने र मैले पाउने भन्ने सम्झेरै झोक चल्छ। पढ्नु, जागिर खानु र अरू काम गर्नु त आफ्नो चाहना या जरुरतमा पो भर पर्नुपर्ने हो त! बुबालाई फोनमा यस्ता भाषण दिने आँट कहाँ पाएर आउनु!
‘म कहाँ बिहे गर्छु त अहिल्यैर?’ मैले आफ्नो निर्णय सुनाएँ।
बुबा झोक्किनुभयो।
त्यो दिन मैले न उहाँका कुरा हावामा उडाउन सकेँ न त बुबाले भनेको नमान्न। भोलिपल्ट बिहानै आन्टीकोमा पुगेँ।
मैले आन्टीलाई बुबालाई सम्झाइदिन भनेँ। अंकल र आन्टीले त उल्टै मलाई पो सम्झाउन थाल्नुभयो। अंकलहरू अरू पनि आएर मलाई सम्झाए।
म कलेज पढ्दै थिइनँ। जागिर थिएन। बिहेका लागि उमेर पुगेको थियो। उनीहरू अब बिहे गर्नैपर्ने धेरै कारण देखाउँथे।
मलाई भने तुरुन्तै बिहे गर्न मन थिएन। म आत्मनिर्भर हुन बाँकी नै थियो। मसँग बिहे नगर्ने आफ्नै कारण थिए। बुबा र अंकलले भने म जे भनिरहेकी थिएँ त्यो बुझ्नै खोज्नुभएन।
त्यही साँझ ‘केटा–केटी’ को भेट गराउने उनीहरूले तय गरेछन्।
आफू यस्तो निरुपाय भएको दुःखमा दिनभरि म रोएँ। तर, कसैले मेरो कुरा सुनिरहेको थिएन। आफ्नो निर्णयमै चट्टानजस्तो खडा हुन के पो गर्नुपर्ला भनेर दिनभरि सोचेँ। सुटुक्क गइदिउँ कि कतै! फर्केर आउनु त परिहाल्छ नि! नजाउँ कि कसैलाई हेर्न या कसैका अगाडि देखिन! ‘तिमीले भनेकै नमान्ने रहिछे तिम्री छोरी’ भनेर आफन्तले बुबाको सातो लिन्छन्। बुबाको मन पनि नदुखोस्, म हेर्न जान नि नपरोस्, त्यस्तो कुनै उपाय सुल्झेन। बरु आन्टीले तेरो कोही केटा छ भने देखाउन भन्नुभएको थियो। सम्झेर हाँसो उठ्यो।
दिनभरिजसो रोएपछि अकस्मात मनमा आयो केटा हेर्दैमा मन परिहाल्छ भन्ने के छ र? धत् बिहे छिनिइसक्यो कि भन्ठानेझैं म किन रोएकी होला?
सुन्निएका आँखा लिएर साँझ म अंकलले बोलाएको ठाउँ गएँ। त्यहाँ केटा पक्षका दुई–तीन जना छोरा मान्छे पनि थिए।
म कोठाभित्र पस्दा उनीहरू सबैका आँखा मैतिर सोझिए। मलाई नियालेका छन् झैं लाग्यो। मैले कसैको वास्ता गरिनँ।
अंकलले मलाई अर्को कोठामा लैजानुभयो।
‘तपाईंहरूले मलाई जबर्जस्ती गर्नुभयो, म यो कहिल्यै बिर्सने छैन,’ म अंकलसँग ठुस्किएँ।
‘लौ लौ जे गर्ने गर,’ यति भनेर अंकल निस्किनुभयो।
झमक्कै साँझ परिसकेको थियो। लोडसेडिङ थियो। कोठमा मैनबत्ती बालिएको रहेछ। म दिक्दार थिएँ। ढोका चुइँय गर्यो। केटा आएछ। ऊ चुपचाप बस्यो। मलाई हेरेर मुस्कुरायो।
मेरो मनमा आँधी चलेको थियो। ऊ पनि बोलिरहेको थिएन।
अकस्मात मैले सोधेँ, ‘केटी हेर्न आएको यो कतिऔं पल्ट हो?’
ऊ विदेशबाट केटी हेर्न आएको भन्ने सुन्दै मलाई झोक चलिसकेको थियो। केटी हेर्नै जान नहुने त हैन होला तर म जबर्जस्ती उसलाई हेर्न आउन परेकोमा झन्किएकी थिएँ बढी नै।
ऊ ट्वाँ पर्यो। सायद उसले यस्तो प्रश्न अपेक्षा गरेको थिएन।
मैले उसको अनुहारमै हेरेर सोधेकी थिएँ, त्यसैले उसलाई भन्न कर लागेको हुनुपर्छ, ‘चौथोपल्ट हो, अनि तिम्रो?’
चार जनालाई उसले अस्वीकार गरिसकेछ। ती केटीहरू आफैंमा दोष देखेर कति खुम्चिए होलान्! उनीहरूका बाबाआमाको मन कति अमिलो भयो होला! केटाले मन नपराए पनि केटीकै खोट देख्ने आफन्तका कुरा अलि समय झेल्नु त परिहाल्ला! आफूलाई मन परे–नपरेको भन्न कहाँ सक्छन् र केटीहरू! अरूबाट अस्वीकृत हुनुपर्दा कस्तो हुँदो हो! 
मलाई आफ्नै बुबासँग रिस उठ्यो। त्यसमाथि उसले तिमी भनेको फिटिक्कै मन परेन। पहिलोपटक भेटेकी युवतीलाई सिधै तिमी भन्ने! म उसँगै कलेज पढ्ने साथी हो र! अघिपछि भएको भए म यस्तो कुरा सामान्य रूपमा लिन्थेँ होला तर झोकमा मैले असजिलो मानेँ।
उसको प्रश्नको जवाफ दिनै पर्यो, ‘मेरो त पहिलोचोटि हो, मैले के के बोल्ने भनेर तयारी गरेको छैन।’
‘तिम्रो नाम के हो? भन्न त भनेका थिए मलाई यादै भएन।’
उसले मेरो नाम सोधेको पनि मन परेन। उसलाई बिहे गर्न मन लाग्ने, उसैलाई हेर्न मन लागेर म यहाँ आउनुपर्ने अनि मेरो नामै बिर्सिने?
‘म त्यति महत्वहीन छैन भन्ने यसले बुझ्ने छ केही समयमै,’ मनमा यस्तो जबरजस्त सोचाइ आइहाल्यो। बरु उसको नाम त मलाई थाहा थिएन। सोधिनँ पनि, किनभने मलाई चाहिएकै थिएन।
‘दृढता मेरो नाम हो,’ मैले ठाडो जवाफ फर्काएँ, ‘मान्छे पनि त्यस्तै छु।’
‘तिमीलाई कसैले कर गरेको त हैन यहाँ आउन?’ उसले मलाई सोध्यो।
समझदार भने रहेछ जस्तो लाग्यो पहिलोपटक। अब मलाई कुरा खुस्किन्छ कि भन्ने फसाद पर्यो। मैले मेरा बाबा र अंकलको इमेज नराम्रो बनाउन सक्दिनथेँ उसको अगाडि।
‘म कसैको दबाबमा पर्ने केटी हैन,’ मैले गफ दिएँ। 
र, थपेँ पनि, ‘मलाई आज बिहान मात्रै कुरा गर्नुभएको थियो बुबाले।’
बढी बोले कुरा बिग्रेला भनेर म थामिएँ। उसले मलाई सकेसम्म नियालिरहेको थियो। आमाले ‘थोरै बोल्नु, निहुरेर बोल्नु, धेरै नहाँस्नु’ यस्ता कुरा सिकाएको झल्झली याद आयो। मैले त उसको आँखामा हेरेरै कुरा गरेकी थिएँ। लाज र धक कत्ति लागेन।
मैले उसको उमेर सोधेँ।
‘३०’
‘मलाई तपाईंको उमेर ढाँटेका रैछन्, २८ वर्ष भन्थे।’
मेरो कुरामा ध्यान नदिई उसले सोध्यो, ‘तिमी २२ हैन?’
‘मेरो उमेर पनि घटाएर सुनाएछन्, म त २४ भएँ।’
ती ‘अरू मान्छे’ लाई नजाँनिदो गरी दोष लगाएकोमा मेरो मनलाई अलि सुविस्ता भयो।
‘विदेशमा के गर्नुहुन्छ?’ मैले नै सोधेँ।
‘सुपरमार्केटमा काम गर्छु,’ उसले पूरै कुरा भनेन।
‘पढ्नु पनि भएको हो?' फेरि सोधेँ।
‘हो, उहाँ गएर एमए सरहको कोर्स गरेको हुँ तर त्यसको मान्यता यहाँ हुन्न। त्यसैले म बिए पास मात्रै हुँ,’ उसले साँचो बतायो।
इमान्दार रहेछ मान्छे।
‘आउटअफ कोर्स पढ्ने बानी छ कि छैन नि? लास्ट किताब कुन पढ्नुभएको थियो?’
किताब पढ्ने मानिस ज्ञानी हुन्छन् भन्ने मलाई लाग्थ्यो। त्यो बेला म सोच्थेँ– कोर्स बाहिरका किताब नपढ्ने मान्छेसँग त म कुनै हालतमा बिहे गर्दिनँ।
उसलाई त यादै रहेनछ। किताब पढ्ने फुर्सद नै पाउँदैन रे। रुचि पनि छैन रे। अनि यहाँ छँदा उसले काम गरेको अफिसबारे बतायो।
‘नेपालमा फर्केर केही गर्ने हो या सधैं विदेशमै बस्ने हो नि तपाईं?’ मैले सोधेँ।
उसले यसको जवाफ के दियो बिर्सें। मेरो पढाइ र भविष्यमा के बन्ने भनेर उसले पनि सोध्यो।
‘अहिलेसम्म म केही काम गर्दिन। भर्खर ब्याकपेपरको रिजल्ट आयो, यही वर्ष एमए पढ्न पाइन्न अरे,’ मैले थपेँ, ‘कलेज पनि छैन, साथीभाइसँग डुल्यो, घुम्यो, पूरै आवारा ताल छ। पछि के गर्ने सोचेको पनि छैन।’
मैले एउटा कुरा सम्झेँ, जसले ऊ भड्किएला कि भन्ने आश पनि थियो।
‘म बुझ्ने भएपछि बिहेबारे मेरो एउटा संकल्प छ,’ मैले भनिदिएँ, ‘मेरो बिहेमा कन्यादान हुन्न। छोरीमान्छे दान गर्ने चिज हैन। मसँग बिहे गर्न चाहने मानिसलाई यति कुरा थाहा हुनुपर्छ र राजी पनि हुनुपर्छ।’
‘त्यो त मैले मात्रै भनेर हुने कुरा होइन,’ ऊ भन्न खोज्दै थियो, मैले बोल्नै नदिइ भनेँ, ‘र, छोरीमान्छेलाई हेप्नेसँग म साथी पनि बन्दिनँ, बिहे गर्ने त कुरै हुन्न।’
‘हामी एक्काइसौं शताब्दीका आधुनिक मानिस हौं, मैले बुझ्छु तर सबै कुरा बुबाआमाले बुझ्नुहुन्न,’ उसले सकेजति समझदार बन्न खोज्यो, ‘यहाँको घरमा एक्लै बस्नुपर्छ र आफूजस्तो त्यस्तै बने हुन्छ। गाउँजाँदा बुबाआमाका लागि त्यहीँका अरू बुहारीजस्तै बनिदिनुपर्छ।’
उसले त बढो आधुनिकताको कुरा गर्यो र एक्काइसौं शताब्दीकै मानिस भएको जिकिर गर्यो। म थोरै भए पनि मुसुक्क हाँसे।
‘मलाई त हामी आधुनिक हौं या हैनौं थाहा छैन, तर आफ्नो सोचाइअनुसारको व्यवहार हुनुपर्छ। गफ मात्रै आधुनिक गर्ने र व्यवहारमा डराउने मानिस हुनुहुन्न,’ मैले भन्दाभन्दै बाहिरबाट ढोका ढकढकाए।
‘अब जाने?’ उसले भन्यो।
म उठ्न खोजेँ।
‘बाहिर गएर के भन्ने? आजै निर्णय दिने या नदिने?’ उठ्दाउठ्दै उसले भन्यो, ‘म सात–आठ दिन मात्रै नेपाल बस्ने हो।’
‘केही नभन्ने। म त बुबासँग मात्रै कुरा गर्छु अब,’ म निस्किएँ।
घर फर्किँदै गर्दा अंकललाई भनेँ, ‘यो मानिससँग म बिहे गर्दिनँ।’
‘अहिल्यै तँ किन बोल्नुपर्यो, उसले के भन्छ बुझ्नु छैन। उसको निर्णय के हुन्छ अनि बल्ल बोल्ने हो तँ।’
उहाँको आदेश मलाई चित्त बुझेन। म फन्किएर कोठामा आएँ।
कोठा नपुग्दै बुबाको फोन आयो।
‘कस्तो लाग्यो त?’
‘मान्छे राम्रै होला नि, मैनबत्ती बालेको थियो, अनुहार राम्ररी देखिनँ। कुराचैं परिपक्व मानिसले जस्तो गर्यो। समझदार रहेछ। तर मलाई चैं हुन्न,’ मैले बुबालाई पनि आफ्नो निर्णय सुनाएँ।
‘हो र? ल ठिकै छ। तिमीलाई राम्रो लागे म भोलि नै आउँथेँ। अब आउन्न,’ बुबाले मेरो निर्णयमा सजिलै साथ दिनुभयो।
मेरा कुरा त सकिएकै थिएनन्, ‘पढेलेखेका मानिस खोज्न पनि सक्नुहुन्थेन? पछिल्लोपटक कुन किताब पढ्नुभयो भनेर सोधेको त यादै छैन रे! म त लाउरे टाइपको मान्छेसँग बिहे गर्दिनँ है भन्द्या छु।’
मेरो कुरा सुनेर बुबा त्यसरी नै हाँस्नुभयो जुन हाँसो मलाई खुबै मन पर्छ।
त्यसको पर्सिपल्ट बुबाले मलाई फेरि फोनमा सुनाउनुभयो, ‘के भनेकी थियौ र, केटोले त केटी ठडेरी रहिछ, भन्यो रे।’
म हाँसेँ।
ठडेरी नै सही, म त म नै हुँ नि।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको हेपाहा प्रवृत्तिका अगाडि अन्तिम समयसम्म पनि नझुक्ने बताएका छन्। नेपालले भारतसँग दुश्मनी गर्न नभई सधै मित्रता बढाउन चाहेको भन्दै उनले भारतले नेपाललाई जबरजस्ती झुकाउन खोजे अन्तिम समयसम्म पनि लड्न तयार रहेको बताए।
क्रान्तिकारी पत्रकार संघद्धारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालको लागि केहि दुःख र कठिनाई भएपनि राष्ट्र र आगामी पुस्ताको लागि सबै एक ढिक्का भएर राष्ट्रियता र स्वाभिमान रक्षाको लागि लड्नुपर्ने बताए।
संविधान निर्माण कार्यमा नेपाली जनताले धैयर्ताका साथ राजनीतिक दल र सरकारलाई साथ दिएको अनुभूती आफूले गरेको उल्लेख गर्दै यसपटक पनि राजनीतिक दल र सरकारलाई साथ दिएर भारतीय हस्तक्षेपका विरुद्ध एक ढिक्का हुन आग्रह गरे।
उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो संविधान आफैंले बनाएर नेपालीले कुनै गल्ती नगरेको र संविधानले कसैलाई विभेद पनि नगरेको स्पष्ट पारे।
उनले भने, ‘नेपालमा संविधान बनाएर हामीले कुनै गल्ती गरेका छैनौं र यसले कसैलाई विभेद पनि गरेको छैन। मधेशलाई विभेद गर्‍यो भन्ने जुन भ्रम पार्न खोजिएको छ त्यो सत्य होईन । बरु पहिचानको आधारमा भन्ने हो भने मधेशलाई अन्य समुदायलाई भन्दा धेरै पहिचान प्राप्त भएको छ।’
संविधान बनाए वापत नेपालीले दुःख पाउनुपर्ने कुनै कारण नभएको भन्दै उनले ठूलो र छिमेकी मुलुक भएको नाताले भारतले छिटो भन्दा छिटो यो समस्याको समाधान खोज्नुपर्ने बताए ।
‘यो पटक जसरी आत्मनिर्णयको अधिकार उपयोग गरेर संविधान र सरकार निर्माण गरी अगाडि बढेका छौं यसले विश्वसामु नेपालीले आफ्नो अधिकारको फैसला आफैंले गर्न सक्छन् भन्ने प्रमाणित भएको छ,’ प्रचण्डले भने।
मधेशमा जारी आन्दोलन र मधेशी समुदायले उठाएका विषयहरुको समाधानको लागि संबिधान संशोधन सँगै वार्ता र छलफलको माध्यमबाट समस्या समाधानको पहल भईरहेको भन्दै आन्दोलनरत पक्षलाई जिम्मेवार भएर समस्या समाधानको बाटोमा आउन आग्रह गरे ।
नाकाबन्दीको सम्बन्ध मधेश आन्दोलन र छिमेकी मुलुक भारतसँग पनि जोडिएको उल्लेख गर्दै प्रचण्डले समाधानको लागि आन्दोलनरत पक्षसँग वार्ता र छलफलसँगै भारतीय अधिकारीहरुसँग कुटनीतिक पहल पनि भईरहेको बताए।
भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन सँगै सबैक्षेत्रमा असर पर्नुको साथै खर्बौको आर्थिक क्षती भएको बताए।  उनले सरकारले यसको वैकल्पिक व्यवस्थाको खोजी पनि गरिरहेको बताए। ईन्धनको समस्या समाधानको लागि अन्य मुलुकबाट ईन्धन ल्याउने विषयमा पनि छलफल र प्रयासहरु भईरहेको बताए ।
संविधानसभा मार्फत जारी भएको नेपालको संविधान दक्षिण एशियामा मात्र होईन विश्वका सबै मुलुकको संविधानभन्दा प्रगतिशिल भएको उनले दावी गरे। जनताको प्रतिनिधि मार्फत नेपाली जनताको आत्मनिर्णयको अधिकार प्रयोग गरेर स्वतन्त्रतापूर्वक जारी गरेको संविधान लोकतान्त्रिक र वैधानिक विधीको दृष्टिले पनि सबैभन्दा उत्कृष्ट रहेको उनले दावी गरे ।
एक अर्को प्रसंगमा प्रचण्डले बाबुराम भट्टराईले पार्टी त्यागेर आत्मघाती निर्णय गरेको बताए। ‘हामी सबैले उहाँलाई पूनर्विचार गर्नुस्, पार्टीमा फर्किनुहोस् भनेर धेरै पटक आग्रह गर्‍यौ मान्नु भएन। अन्तत उहाँको यो निर्णयले उहाँलाई नै घाटा पुर्‍याउने छ,’ उनले भने।
भट्टराईले दिएको दुःख अहिले सबै नेपालीहरुले झेल्नुपरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले भने भट्टराईले दिएको दुःख २५ वर्षदेखि झेल्दै आएको दोहोर्‍याए। 

लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले तराईमा जारी आन्दोलनसँगै सीमाक्षेत्रमा तस्करी मौलाएको बताएका छन्।
सबैको ध्यान तराईको आन्दोलन र नाकाबन्दीतर्फ केन्द्रीत भईरहेको बेला सीमाक्षेत्रमा तस्करी बढेको बताए।
हालैमात्र लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै खुला सीमाना र जारी आन्दोलनका कारण तस्करी नियन्त्रणमा समस्या भएको बताए।
लुम्बिनी अञ्चलमा आफ्नो बसाईको क्रममा जनतालाई शान्ति सुरक्षा प्रत्याभुती गराउनेसँगै तस्करी नियन्त्रण र लागूऔषध नियन्त्रणका अभियानलाई प्राथमिकता दिने बताए।
उर्जाशिल युवाहरु विदेश जाने क्रम बढेसँगै देशभित्रै रहेका युवाहरु पनि लागू औषधको दुर्व्यसनमा फसेको भन्दै यसको नियन्त्रणको लागि हरेक टोलटोलमा अभियान चलाउनुपर्ने बताए।
उनले हातमा लाठी र कानुनको सहयोगमा गरिने पुलिसिङले मात्र प्रहरी व्यवसायीक बन्न नसक्ने बताए। नागरिकको सहयोग भएन भने लाठी र कानुनको सहयोगले मात्र प्रहरी सफल हुन नसक्ने भन्दै आफुलाई सफल बनाउन प्रहरीले नागरिकको सहयोग लिनुपर्ने बताए।
जनताको अपेक्षा अनुसारको पुलिसिङ गर्न नसके प्रहरी असफल हुने भन्दै उनले जनताको अपेक्षा अनुसारको पुलिसिङको लागि जनताकै सहयोग लिनुपर्ने बताए।
‘जनताले प्रहरी राम्रो बनोस्, व्यवसायीक बनोस् भन्ने चाहेका छन् त्यसको लागि प्रहरीको क्षमता विकास र नागरिक प्रहरीको सम्बन्ध विकास आवश्यक छ,’ उनले भने।
जुन क्षेत्रमा प्रहरी र जनताको विचमा दुरी बढ्छ त्यस क्षेत्रमा प्रहरी प्रति धेरै गुनासो आउने गरेको उल्लेख गर्दै उनले जनता र प्रहरी भन्ने पि टु एस टु को सुत्र अनुसार आफुले काम गर्ने दावी गरे।
‘जुन ठाउंका नागरिक सचेत छन् त्यहांको प्रहरी पनि सचेत रहेको हुन्छ प्रहरी आफै सक्रिय बन्दैन प्रहरीलाई सक्रिय बनाउने काम पनि नागरिकको हो,’ उनको भनाई थियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget